मेरो स्थाई घर रुकुम जिल्लाको गोतामकोट,घरैको पछाडी भेरी नदी बग्दछ भने अघिल्तिर डोल्ला जाने बाटो छ। दश मिटर अघिल्तिरको बाटोमा हिड्ने आधा भन्दा ज्यादा मानिस कि त डोल्पा गैरहेका हुन्छन भने कि त डोल्पा बाट फर्किरहेका हुन्छन। मेरा साथी परिवार छिमेकी असि प्रतिशत डोल्पा पुगेकै हुन्थे। सबैलाई आकर्षण गर्ने डोल्पाको कारण थोरैलाइ अरु केहि भए पनि धेरैलाई डोल्पामा पाइने जडिबुटी यार्चा गुम्बा थियो,हरेक वर्ष वैशाख जेठको महिना विद्यालय बन्द गरेर विद्यार्थी शिक्षक कीरा( यार्चा गुम्बा लाइ स्थानीयहरू किरा भन्ने गर्दछन ) खोज्न जाने चलन अहिले सम्म पनि व्याप्त छ। सम्झिन्छु ,म विद्यालय पढ्दा नयाँ बर्षको कक्षा सुरु हुन नपाउदै मेरा साथीहरु र दाइ दिदीहरु आफ़ु जत्रै वा आफु भन्दा ठुला बोराका झोला बोकेर लत्को लागेको।मेरो कक्षाका सबै डोल्पा जान्थे,म भने उनीहरुका फर्कीसकेपछिका कथाहरु सुनेर चित्त बुझाउँथे। बच्चैमा मलाई पनि डोल्पा जाने रहर नलाग्ने कुरा थिएन तर आँट भने जम्मा भैसकेको थिएन,हिउपहिरोका त्रासका कुराहरु,दिन भर भारी बोकेर हिड्नु पर्ने कुराहरु मेरो बाल मस्तिष्कलाइ तर्साउन काफी थिए।
समय बित्दै गयो,म बालक बाट वयस्क भए, मान्छे हिड्न गाह्रो हुने बाटोमा जीप हुइकिने भयो,म पढाइको सिलशिलामा कोहलपुर काठमाडौ हुदै कोलकाता पुगे,तर अझै डोल्पा पुग्ने साइत जुरेन। झन् पछिल्नो समय आफै कर्नाली प्रदेशको र नगरबासीमा एकैपटक जसो बासिन्दा बनिसकेछी डोल्पाको भोट यार्चा टिप्ने ठाउ एकपटक अवस्य पुग्छु भन्ने थियो,तर समय भनुम वा परिस्थिती भन्ने कुराले ठ्याम्मै साथ् दिरहेको थियन।
सन् २०१८ अगस्त महिनामा मेरो बोर्ड परीक्षापछि कम्तिमा एक महिनाको छुट्टी पाइने भयो,भन्न परोइन म यात्राको पारखीलाइ कहाँ पुग्ने इच्छा जाग्यो होला,र सल्लाह सुझाब लिदा पनि सबैले यो सिजन डोल्पाको लागी राम्रो हुन्छा भनेपछि म उत्साहित नहुने कुरै थिएन।कोलकाता बाटै धुमधाम रिसर्च गरियो,युटुबका डोल्पा सम्बन्धि भीडियोहरु कुनै बाकि राखिएन,इन्टरनेटमा रहेका धेरै पदयात्रा सम्बन्धि धेरै वेबसाइट हरु हेरियो,अत:पूर्ण तयारीका साथ म परीक्षा सकेर स्थाई घर रुकुम फर्किए।
घर पुगेको केहि दिन उतैको रमझममा भुलियो ,धेरै कुरा परिवर्तन भै सकेका रहेछन,नहुन पनि कसरी समय स्थीर कहाँ रहन्छ र,आखिर म ३ वर्ष पछि रुकुम पुगेको थिए। गाउँ गाउँ मा डोजरले मोटरबाटो पुर्यायछ,हिड्दा १ घण्टा लाग्ने ठाउमा बरु आधा घण्टा कुरेर १०० रुपैया तिरेर जीपमा झुण्डिने चलन सुरु भएछ।अर्को सकारात्मक कुरा चै गाउमा बिजुलीले झलमल पार्न सुरु गरेछ। १ दिन २ दिन भन्दा भन्दै १ महिना बित्यो तर फेरी पनि डोल्पा जाने मेलो आएन,मैले तय गर्ने सोच बनाएको रुट जाने भन्दा नजान सल्लाह दिने धेरै भए,अर्को महत्वपुर्ण कुरा चै साथीको थियो।अलि गार्है मानिएको रुटमा एक्लै हिड्न असम्भव नभए पनि सजिलो थिएन,उसो त यात्राको लागी साथी खोज्ने प्रयास मैले कोलकातामा रहदा नै पनि गरेको थिए,केहि तयार पनि भएका थिए,तर अन्तिम समयमा रुट परमिट बिदेशीलाइ पाच सय डलर लाग्ने थाहा भएपछी उनीहरुको योजना रद्द भएको थियो। नेपाली साथी खोज्ने प्रयास नगर्या होइन तर आफुलाई मिलेको बेला साथीहरुको समय मिल्न भन्या जस्तो सजिलो कहाँ थियो र फेरी केहीको मिलेपनि डोल्पा जान परिवार बाट अनुमति पाउन सजिलो थिएन,धेरै तर्साउन डोल्पा नाम नै काफी हुन्छ।जसै गर्दा पनि साथी कोहि नभेटिने छाँट आएपछि मा एक्लै हिड्ने तयारी गर्न थाले,एक्लै पठाउन भन्दा आफुहरु पनि म साथै डोल्पा जाने योजना मेरो बुवा मम्मीले बनाउनुभयो,उहाहरूलाइ पनि शे फोक्सुन्डो पुग्ने रहर! म निकै खुशी भए आखिर बुवामम्मी संगै आफुले चाहेको ठाँउ यात्रा गर्ने अवसर जीबनमा कति पटक आउँछ र ? नुमा ला बाग ला वाला रुट नहिड्न र सिधै सुलिगाड हुदै फोक्सुण्डो पुगेर फर्किन सल्लाह दिने धेरै हुनुभयो,कारण थियो बिकट उपल्नो डोल्पा र बिचमा आउने ठुला पासहरु जहाँ हामी लाइ समस्या पर्न सक्ने अनुमान गरिएको थियो,तर खोइ मान्छे को जात कै कुरा हो कि मेरो एकलकाँटे स्वभावले गर्दा हो जे गर्न सक्दैनस भन्छन तेही गरेर प्रमाणित गर्न मन लाग्छ,फेरी उपल्नो डोल्पा भोट नपुगी फर्किन मेरो मनले कहाँ मान्थ्यो र? सकेसम्म रुट परिवर्तन नगर्ने योजना सहित हामी एक बिहानै ३ वटा ठुला झोलाहरु सित तयार भयौ।
हुन त जीप हिड्ने बाटो भएपनि तेती भरपर्दो र समयमा गन्तव्यमा पुर्याउने ठेगान नभएकाले जीप पुग्ने ठाउ सम्म बाइक यात्रा गर्ने निधो गर्यौ। भर्खरै पानी परेकोले चिप्लो बाटो,मसिनो टायर भएको होन्डा साइन बाइक र तेस्तो बाटोमा खासै अनुभव नभएको म ! के चाहियो मेरो लागि त गोरिल्ला ट्रेनीङ नै भयो नि। बाइक यात्रा त्रिबेणी सम्म पुगेर रोकियो,त्यो भन्दा अगाडी बर्खाले बाटो बिगारेको सुचना केहि दिन अघि नै हामीले पाइसकेका थियौ।
त्रिबेणीमा बाइक थन्काएर एक एक कप कफी लगाए संगै हाम्रो पदयात्रा सुरु भयो। त्रिबेणीबाट भेरी किनारै किनार करिब तिन घण्टा हिँडेपछी करबगाड नामको ठाउँ पुग्यौ,तेहीँ बाट रुकुम सकिएर डोल्पाको सिमाना सुरु हुने रैछ,र मा पहिलोपल्ट डोल्पामा पाइला टेक्दै थिए।
भिन्नै किसीमको माटोको छानो,छाना माथी तरकारी खेती ,रातो खुर्सानी सुकाएका पालहरु तेहिबाटै डोल्पाली परिवेश सुरु भैसकेको थियो। कतै बन्दै गरेको कतै भत्किएको बाटो,कतिबेला भेरी पारी कतिबेला भेरी वारि तर्दै हामी ५ बजे त्रिपुराकोट पुग्यौ। त्रिपुराकोट डोल्पाको उँदाउदै गरेको ब्यापार केन्द्र रहेछ,भेरी नदी को किनारमै र देब्रे तिरको डाडाबाट त्रिपुरासुन्दरी माइको मन्दिरले कवच प्रदान गरेजस्तो लाग्ने। स्वादिलो डोल्पाली स्याउ मज्जाले चाख्ने जोग तेही मिल्यो,तेस दिनको बास जुफालमा हुने पुर्बयोजना मुताबित हामी ढिलो नगरी त्रिपुराबाट हिँड्यौ। त्रिपुराबाट जुफाल २ घण्टा उकालोको बाटो ,जीप पनि चल्ने रैछ हेलिकप्टरले पुरयाएको रे! हामी पुग्दा अन्तिम जीप छुटिसकेको रहेछ,हाम्रो खुट्टा उकालोमा अझ २ घण्टा तन्काउनुको विकल्प रहेन। लामो समयपछि को हिडाई भएर होला ,खुट्टाले थकाइ मानिसकेका थिए,राति ८ बजे जुफाल पुग्यौ हामी। जुपाल एअरपोर्टको लागि प्रसिद्द ठाँउ। अर्को दिन जुफालमै बित्यो,जुफालका डाँडाहरु चहार्यौ ,देखीने विभिन्न ठाउहरुको जानकारी लियौ।तेत्तिकैमा एता आउनुस, स्याउ चाखेर जानुहोस आवाज एक फार्मबाट आइरहेको थियो,हामीले बजारतिर गाडीबाट ओर्लिन नपाउदै आफ्नो होटेल बोलाउने ब्यापारीहरुलाई सम्झ्यौ,दाइले स्याउ काक्रा नांग्लो भरी ल्याउनुभयो ,हामीले अघाउन्जेल खायौँ(जम्मा तीन जना थियौ तेस्बखत) पैसा दिन लाग्दा लिन मान्नुभएन,"सप्पै को को ने खाइ दिँदाछन,हजुर हरु बाट के केको पैसा लिदा हु ,कता टाढा बाट आउनु भाको हो "उँहाले भन्नुभयो, हामी संग बदलामा दिन केहि पनि थिएन,आभारी शब्दहरु बाहेक।जीन्दगीमा कहिले काँही हामी भ्रममा रहने गर्छौ कि जब हामि संग पैसा छ त सबथोक हुन्छ! फराकिलो हृदयका धनी डोल्पाली दाइको फोटो खिचेर हामी छुट्टियौ। त्यस साझ फाफ़र चाख्ने मौका मिल्यो ,फरक स्वाद मलाई मन पर्यो।
भोलिपल्ट बिहानै हेलिकप्टरले ओसारेको जीप चढेर हामी डोल्पाको सदरमुकाम दुनै पुग्यौ।अब हाम्रो सहि अर्थमा पदयात्रा सुरुहुदै थियो,हामी मध्ये कोहि पनि नहिडेको बाटो अब सुरु हुदै थियो। दुनैमा भेटिनु भएका एक आफन्तको सल्लाह अनुरुप केहि भारी तेही घटायौ र केहि थप्प्यौ,थपेका मध्ये एक सामग्री ३ वटा प्लास्टिकहरु थिए,जो पानी पर्दा काम लाग्ने थिए।
निर्जन बाटो एकतमासले हाम्रो बिपरित बगिरहेको भेरी नदी,लाग्दथ्यो भेरी हतारिएको छ सागर भेट्न र हाम्लाई पनि हतारिन सम्झिरहेको छ,यात्रा कोठामा बसेर बनाएको जस्तो सहज नहुन सक्छ।तेस साझ हामी ताराकोट पुग्यौ,नयाँ ठाउमा त प्रहरी चौकी देख्दा नि खुसि लाग्ने रैछ,चौकी नजिकैको एक होटेलमा हाम्रो बास भयो। ताराकोटको बासिन्दाहरुलाई तराली भनिने रहेछ,खाम भाषा बोल्ने उनीहरु प्राय बुद्ध धर्मावलम्बी हुने रहेछन। भोलिबाट हाम्रो फोनले काम गर्नेवाला थिएन,र धो उपत्यका नपुगे सम्म हाम्रो बास पनि पालमा हुनेवाला थियो। मेरो दाहिने गोडा दुखिरहेको थियो,लाग्यो थकानले होला,चौरी गाइको घिउले मालिस गरेर सुतियो। रातभर सुताई पनि गतिलो भएको थियन,कारण थियो भोतेकुकुरको भिन्न खालको भुकाइ!रातभर झस्कायो,मलाई भोलिपल्ट मात्र थाहा भयो त्यो भुकाइ भोटेकुकुरको थियो। भोलिपल्ट उठ्दा पनि अवस्था सुधार भएको थिएन, खुट्टा जाम जस्तो भएको थियो,हिड्न निकै गाह्रो। मुभ र पेनकिलरको मदतले जसो तसो लत्रिदै थिए। यात्रा रद्द गर्ने कुरा पनि आयो,किनकि तेस्तो हिडाईले गन्तव्यमा पुग्न सम्भब थिएन,र अवस्था सुधार नभए झन् बिकट ठाँउमा समस्या पर्नेवाला थियो,बाटो झन् निर्जन हुदै गैरहेको थियो।करिब एक घण्टा जसो तसो हिडेपछि फेरी मुभले मालिस गर्यौ र बुवा भने एस्तो पाराले हुदैन भन्दै मेरो लागि लठ्ठी काट्न तम्सिनुभयो। तेस्पछि भने केहि सहज भयो तर झोला बोकेर हिड्न सक्ने अवस्था थिएन,रुकस्याक बुवाले बोकिदिनुभयो,म लठ्ठीको मद्तले लत्रिदै थिए।हामी भेरी नदीको मुख्य शाखालाई छाडेर एक शाखा पछ्याउन लाग्यौ।उकालो ओरालो ,बच्चा देखी सुन्या भोटको बाटो सजिलो कहाँ हुदो हो ! १ बजेतिर हामी लैनिओडार भन्ने ठाँउमा पुग्यौ,अब पाल मात्र भेटिने घर नभएका ठाउमा हामी पुगेका थियौ। तेहिँको एउटा पालमा चाउचाउ उमाल्न लगाएर चीउरा संग खायौ,यात्रा अवधि भर बिहानको खाना प्राय चाउ चाउ नै भयो ,खान पकाउन लगाउने कुर्ने समय हामी संग कहाँ थियो र। साझ ५ बजे हामि झोर भन्ने ठाउमा पुग्यौ,हाम्रो योजना नावरपानी पुग्ने भएपनि खोच्याई वाला हिडाइले अघि बढ्न दिएन, एउटा दिदीले “भोलि नाप्पो नाप्पो गयानी धो पुगीजादछ के को हतार हो” एस्तो भनेपछि हाम्रो बास त्यो दिदीको पालमै भयो। जीवनको पहिलो पालको बास,दिदीले मिठो खाना खुवाउनुभयो,करिब १ घण्टा त चौरीको घिउले मेरो खुट्टा मालिस गर्ने काम नै गरियो ,धेरै सहज भयो र सुताई पनि थकानले होला कोल्टे नफेरी रात बित्यो। भोलिपल्ट उज्यालो हुदा हामी नावरपानी पुगिसकेका थियौ,करिब एक घण्टा हिडे पछि चोलाङ्ग नामको ठाउको एउटा पालमा भोटेचिया र हामीले बोकेको खाजा खाएर अघि बढ्यौ। अब भूगोल अलि फरक हुदै गैरहेको थियो,अग्ला पहाडहरु देखिन छोडेका थिए। निकै साघुरो बाटो,जीर्ण अवस्थाका पुलहरू बाटो जोखिमपुर्ण भएपनि यात्रा रोमान्चक हुँदै गइरहेको थियो। हामी अब उपल्लो डोल्पामा पाइला चाल्दै थियौ। एकचोटी फोटो खिचेर चित्त नबुझ्ने , हेरेर आँखा नअघाउने होंचा बनस्पति बिहिन लेकहरु, छेउमै बगिरहेको भेरी नदि हामीले भेट्ने बेलाको भन्दा निकै सानो भैसकेको थियो। अब म पनि लट्ठीको सहाराले आफ्नो रुक्स्याक बोकेर हिड्न सक्ने भैसकको थिए।बाटै छेउमा नावरका बथानहरू देखिन र डाँफेका चिरबिरहरु सुनिन थालेका थिए, निकै मनमोहक दृश्यहरु चारैतिर नियाल्दै ४ बजे तिर हामी उपल्नो डोल्पाको सुन्दर उपत्यका धो थराप पुग्यौ।प्राचिन व्यापारिक नाका धो तिब्बब्ती ब्यापारीहरु माथी बाट र तलका ब्यापारीहरु पनि आउने र ब्यापार गर्ने नाका रहेछ। पर्यटकीय सिजन र ठाँउ भएपनि पर्यटक हरु भने छिट फुट मात्र देखिएका थिए। साझ सूर्यास्तको समयको धो उपत्यका निकै सुन्दर देखिएको थियो,भाषा जीवनशैली भूगोल सबै कुरा निकै फरक थियो।साझमा एक इटालियन नागरिक संग हाम्रो भेट भयो,एकछिन भलाकुसारी गर्यौ।उनी धो मा निर्माण हुन लागेको जलबिद्युत परियोजनाका कर्मचारी रहेछन,उनका अनुसार अबको २ वर्षमै धो बिजुली बत्तीले उज्यालो हुनेछ। धो मा तिब्बतबाट आयातित मोटरसाइकलहरु पनि देखिए,बिना नम्बर प्लेटका मोटरसाइकलहरु निर्बाध रुपमा चलिरहेका थिए ,त्यहा कहाँ बाट पुग्ने ट्राफिक प्रहरी!लाग्यो यो नेपाल होइन कुनै अर्कै मुलुक हो,नेपाली नोट चल्ने बाहेक अरु नेपाल हो जस्तो लाग्ने कुराहरु निकै कम थिए। हाम्रो अर्को दिन धो उपत्यका नजिकैको ताक्सी नामको गाँउमा आराम गरेर बितायौँ,हामीले भोलिपल्ट बास बस्ने योजना बनाएको ठाँउ दानिगारमा पालवाला होटेल बन्द भै सकेको जानकारी पाएपछि अब एक दिन आराम गरेर भएपनि भोलिपल्ट २ दिनको बाटो १ दिनमै पार गर्नुको विकल्प थिएन।दिनभर आराम गरेर हामी तेससाँझ सबेरै खाना खाएर सुत्यौ,भोलि पल्ट बिहानै ३ बजे उठेर भोटे चियाले जिउ तताए संगै हामीले यात्रा सुरु गर्यौ,हामीले तेसदिन दुइ वटा पास हरु पार गर्नुपर्नेथियो(नु मा ला ५३१० मिटर र बाग ला ५१७० मिटर) बाटोमा चौँरीका बथानहरु नावरका बथानहरु जताततै चरिरहेको देख्न सकिन्थ्यो,हामी बिहान ८ बजे नु मा लाको चुचुरोमा पुग्न सफल भयौ। निकै सुन्दर क्षण थियो त्यो ,घामले टल्किरहेका हिउले ढाकिएका हिमालहरु लाग्थ्यो हामीहरु भन्दा होचा छन,केही समय टुप्पोमा बिताएपछि हामीले ओरालो झर्न सुरु गर्यौ,करिब ३ घण्टा ओरालो झरेपछि हामी दानिगार भन्ने ठाउमा पुग्यौ,जहाँ साल्दाङ्ग बाट आएको बाटो मिसिन्थ्यो तेहाबाट खच्चाड हिड्ने बाटो बाग ला पास पार गरेर फोक्सुन्ड़ो झर्थ्यो। दानिगारमा एकछिन आराम गरेर र खाजा खाएर हामी फेरी उकालो लाग्यौ,अब भने गाह्रो हुन सुरु भैसकेको थियो,जसो तसो हामी साझ ४ बजे बाग ला को चुचुरोमा पुग्यौ, तेहा ँबाट कान्जिरवा हिमालको निकै सुन्दर दृश्य हामीलाइ स्वागत गरिरहेको थियो, केहि क्षण आरामपछि हामीले बाग ला संग बिदा भएर ओरालोबाटो समात्यौ। हाम्रो योजना त्यस दिन सके फोक्सुण्डो पुग्ने सम्भव नभए याकखर्क बास बस्ने थियो,मेरो जीवनको सबैभन्दा चुनौतीपूर्ण दिन मध्येको एक दिन थियो त्यो। रात बढ्दै छ,झन् सुनसान ठाउ आउदै छ, दिनभरको हिडाईले खुट्टा आफ्नो हो कि अर्काको हो भन्ने अवस्थामा पुगिसकेको थियो ,हामी निकै संघर्षपुर्ण यात्रापछि करिब राति ८ बजे याकखर्क पुग्यौ। पालमा ओड्ने ओछ्याउने कपडाहरु सबैलाई पुग्ने गरी थिएनन,हामी चाङ्ग्राको छाला ओछ्याएर जसो तसो गरेर रात काट्यौ। भोलि पल्ट बिहानै यात्रा सुरु गर्यौ,अब फेरी बोटबिरुवा हरु देखिन थालेका थिए,हरियाली देख्न पाउदा आनन्द लाग्यो। हामीले उपल्नो डोल्पालाइ छाडेर अब शे फोक्सुन्डो रास्ट्रिय निकुञ्जमा प्रवेश गर्दै थियौ। फोक्सुन्डो ताल पुग्नै लाग्दा पारिपल्ट बाट नेपालको सबैभन्दा ठुलो झरना सुलिगाड झरना हामीलाई स्वागत गरिरहेको थियो,करिब ९ बजे हामी सुलिगाढ़माथिको झोलुङ्गे पुल पार गरेर रिग्मो गाउ पुग्यौ ,जहाँ हाम्रो सपनाको केन्द्र शे फोकसुन्डो ताल अवस्थित रहेको थियो।
सुन्दर शे फोक्सुन्डो ताल ,लाग्यो प्रकृतिको सुन्दरतम पेन्टिंग हो ,आकाश भन्दा निलो रंगको संग्लो पानी,लाग्दथ्यो आकाशभन्दा गहिरो छ। फोक्सुन्डो सम्म भने सुविधायुक्त होटेलहरु पुगिसकेका रहेछन,हामीले एक होटेलमा झोलाहरु थन्काएर ताल तिर नुहाउन गयौ,तालको अन्त्य र सुलिगाड नदीको सुरु हुने ठाउमा नुहाउने ठाउ बनाइएको रहेछ,हामीले हप्तादिनको हिडाईले गर्हुङ्गो भएको शरीर तालको पानीले हलुका बनायौ,कपडाहरु पनि धुने काम भयो। मुटु सिरिङ्ग पार्ने चिसो पानीमा नया अनुभवको लागी भएपनि डुबुल्की मारियो।दिउसो खाना खाएर हामी फ़ोक्सुन्डोलाइ चक्कर लगाउन निस्क्यौ,काठमात्रले थामिएको बाटो हेर्दा क्याराभान फिल्मको याद आयो। फ़ोक्सुन्डो को अर्को कुना सम्म पुग्यौ,जति हेर्यो उति सुन्दर लाग्ने फोक्सुन्डोको सुन्दरता नशालु थियो। फ़ोक्सुन्डोमा भने विदेशी तथा आन्तरिक पर्यटकहरुको बाक्लै उपस्थिती थियो।
तालको अर्को छेउमा रहेको गुम्बा पनि सुन्दर थियो,गुम्बा परिसरमै तरकारी हरु फ़लाइएको देख्दा खुशी लाग्यो। हामीले धित मरुन्जेल दिनभर फोक्सुन्डोलाइ हेर्यौ ,भोलि पल्ट बिहानै मन नलागी नलागी भए पनि फोक्सुण्डो लाइ सँग बिदा मागेर हामी फर्कियौ। बाटोमा फेरी एकपटक सुलिगाड झरनालाई भेट्यौ,र केहि थान तस्बिर लिएर बिदा भयौ। अब हामी सुलिगाड नदीको किनारै किनार झरिरहेका थियौ,जंगलको बाटो पर्यटक र उनीहरुका भरिया र खच्चड ले बाटोको माहोल नै अर्कै बनाएको थियो।१ बजे तिर छेप्का नामको ठाउमा पुगेर फेरी एकपटक चाउ चाउवाला खाना खायौ,साझ ८ बजे हामी जुफाल पुग्यौ। यसरी हाम्रो पदयात्रा सुरुभएकै ठाउ जुफाल पुगेर सकियो।भोलिपल्ट बिहानै यात्रा सुरु गरेर त्रिपुरासुन्दरी माईको दर्शन गरेर साझ ९ बजे गोतामकोट स्थित घर फर्कियौ।
यात्रा निकै रोमान्चकका साथै संघर्षपूर्ण रह्यो। अब कसैले भोट,यार्चा गुम्बा खोज्ने ठाउ यस्तो कुरा गर्दा कल्पना होइन सम्झना मात्र गरे पुग्ने भयो, कर्णाली प्रदेशको बासिन्दा भएर घर नजिकै रहेको डोल्पा पुगेको छैन भन्ने आफै संगै रहेको गुन्जायस पनि बाकी रहेन। सोधे कसैले के खोज्न गएको थिइस,के लियर फर्किस ?म खुशी साथ भन्न सक्नेछु "सम्झनाहरु" जसलाई याद गर्दै जीन्दगीका आगामी मरुभूमिहरु शितल मनका साथ काट्न सकुँ।
0 Comments